वि.सं:
नेपाल संवत: ११४६ कछलागा द्वादशी - २७
पृष्ठभूमि (Background)
पाल्पा जिल्लाको पूर्वी भूभागमा अवस्थित रामपुर क्षेत्र विगतमा आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउन २०५२ साल देखि प्राथमिक स्वास्थ्य केन्द्र (PHC) मार्फत मात्र स्वास्थ्य सेवामा निर्भर रहँदै आएको थियो। तर स्थानीय जनसङ्ख्या वृद्धि, बिरामीहरूको उपचार आवश्यकतामा आएको जटिलता, तथा विशेषज्ञ स्वास्थ्य सेवाको बढ्दो मागका कारण यस स्वास्थ्य संस्थालाई सुदृढ पार्ने आवश्यकता महसुस गरियो। त्यसै अनुसार, वि सं २०६९ मा १५ शैया र वि स २०७२ सालमा रामपुर १५ शैयाबाट विस्तार गरी ५० शैयाको द्वितीय स्तरको (Secondary Level) प्रादेशिक साधारण अस्पतालमा स्तरोन्नति गरिएको हो। यस अस्पताललाई सुढृद गर्दै ट्रमा सेन्टरको रुपमा विकसित गर्ने योजना रहेको छ ।
यस अस्पतालको विकासले पाल्पा जिल्लाको पूर्वी क्षेत्रमा बसोबास गर्ने नागरिकहरूका लागि स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित गरेको छ। रामपुर अस्पताल अहिले स्थानीय समुदायको स्वास्थ्य सुधार र रोग नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।
परिचय (Introduction)
रामपुर अस्पताल पाल्पा जिल्लाको रामपुरमा अवस्थित प्रादेशिक स्तरको द्वितीय श्रेणीको साधारण अस्पताल (Secondary General Provincial Hospital) हो। यस अस्पतालले पाल्पा जिल्लाको पूर्वी क्षेत्रका बासिन्दाहरूलाई सम्पूर्ण स्वास्थ्य सेवा प्रदान गर्ने प्रमुख केन्द्रको रूपमा कार्य गर्दै आएको छ।
हाल अस्पतालमा हाडजोर्नी रोग विशेषज्ञ (Orthopedic), सामान्य चिकित्सा (General Medicine) र फिजिसियन (Physician) सेवाहरू उपलब्ध छन्। साथै, सामान्य उपचारदेखि आपतकालीन सेवा, मातृशिशु स्वास्थ्य, प्रयोगशाला परीक्षण, र स्वास्थ्य परामर्शजस्ता सेवा पनि यस संस्थाबाट उपलब्ध छन्।
स्थानीय जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्दै रामपुर अस्पतालले सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ निरन्तर सेवा विस्तार गर्दै आएको छ। समुदायमै विशेषज्ञ परामर्श र उपचार सुविधा उपलब्ध गराएर यसले पाल्पाको स्वास्थ्य प्रणालीमा नयाँ अध्याय थपेको छ।